पुस्तकालयको सार्वजनिक प्रयोग खुला : मदन भण्डारी मेमोरियल कलेज

प्रेस विज्ञप्ति (२०८० मंसिर ५ गते)

काठमाडौं । पठन संस्कृति विकास गर्नु नेपाली समाजमा अझै पनि चुनौतीको विषय बनिरहेको छ । यसै अवस्थालाई मध्यनजर गरी काठमाडौं, नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजले पुस्तकालयमा आम मानिसको पहुँच विस्तार गर्दै लैजाने पहल सुरु गरेको छ ।
पुस्तकालयसम्म मानिसको सहज पहुँच विस्तार गर्न यस कलेजले आफ्नो पुस्तकालय विद्यार्थीलगायत आम सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको छ । सामुदायिक शैक्षिक संस्थाका रूपमा सञ्चालित यस कलेजले समुदायप्रतिको दायित्व महसुस गरी यो कदम अघि बढाएको हो । 
हाललाई अध्ययन गर्न चाहने जोसुकै अध्येताका लागि पुस्तकालयको सुविधा पुस्तकालय परिसरमै बसेर लिनुपर्ने व्यवस्था गरिएको छ । समाज, संस्कृति, साहित्य, भाषा लगायतका विविध विषयमा नेपाली र अंग्रजी भाषामा लेखिएका करिब १० हजार पुस्तक कलेजको पुस्तकालयमा उपलब्ध छन् । पुस्तकालय प्रयोगकर्ताले त्रिवि केन्द्रीय डिजिटल पुस्तकालय र यस मार्फत विश्वका विभिन्न डिजिटल डाटाबेस ‘सर्च’ गरी अध्ययन गर्न पाइने प्रबन्ध मिलाइएको छ । आम अध्येतासमक्ष यस अवसरको अधिकतम फाइदा लिई दक्षता अभिवद्धि गर्न कलेज हार्दिक आग्रह समेत गर्दछ ।  
यस कलेजले शिक्षक र विद्यार्थीमाझ पठन संस्कृति प्रवद्र्धन गर्न विभिन्न गतिविधि र प्रोत्साहनका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ । पुस्तकालयबाट वर्षभरीमा सबैभन्दा बढी किताब अध्ययनका लागि लैजाने तीन जना विद्यार्थीलाई पुरस्कृत गरिने नीति पनि कलेजले लिएको छ ।
यसैगरी किताबमाथिका परिचर्चा आवधिक रूपमा क्याम्पसमा सञ्चालन भइरहेका छन् । यस क्रममा लेखक र समीक्षकहरूलाई आमन्त्रण गरी शिक्षक र विद्यार्थीसँग अन्तरक्रिया गराउने कार्य नियमित सञ्चालन भइरहेका छन् । अनुसन्धान तथा खोजलाई प्रश्रय दिन तथा नयाँ ज्ञान उत्पादन गर्नका लागि कलेजले ‘जर्नल अफ प्रोडक्टिभ डिस्कोर्स’ र ‘श्वेतशार्दुल’ जस्ता जर्नलहरू पनि प्रकाशन गर्दै आएको छ । यस कलेजले समयसमयमा काठमाडौंबाहिरका विभिन्न शैक्षिक संस्थाहरूको पुस्तकालय क्षमता अभिवृद्धिका लागि सहयोग स्वरूप पुस्तकहरू उपलब्ध गराउँदै आएको छ । 
सिर्जनशील, व्यवहारिक र आलोचनात्मक चेतको शैक्षिक जागरण अभियानमा विगत दुई दशकभन्दा लामो समयदेखि क्रियाशील मदन भण्डारी मेमोरियल कलेजको मूख्य धेय पठनलाई सौख होइन, संस्कृति बनाउनु रहेको छ ।  

 

डा. बाबुराम अधिकारी
निमित्त क्याम्पस प्रमुख

© 2024 All rights reserved Madan Bhandari Memorial College